काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद्हरूले मेघगर्जन तथा चट्याङ हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।