काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका बालेन्द्र शाह (बालेन) झापा ५ बाट निर्वाचित भएका छन् । उनी संलग्न दलले पनि स्पष्ट एकल बहुमत पाउने गरी मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गतेको आम चुनावको नतिजा सम्पन्न भएपछि देश अब सरकार निर्माणको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
रास्वपाकी नेता सोविता गौतमका अनुसार बालेनको नेतृत्वमा नयाँ सरकार बन्नेछ । चितवन–३ बाट चुनाव जितेपछि उनले बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी हुन् ।
निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै गौतमले भनिन्, ‘चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ । उहाँकै नेतृत्वमा नयाँ सरकार बन्नेछ ।’
रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । उनले भनेकी छन्, ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ । यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’
यसअघि बालेन शाहले काठमाडौँ महानगरको प्रमुख थिए । महानगरको मेयर छोडेर झापा ५ मा चुनाव लड्न गए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो । जसलाई जनताले अनुमोदन गरिदिएका हुन् ।
संविधानः एकल बहुमत आएपछि सम्बन्धित दलको संसदीय दलको नेतालाई निर्वाचन परिणाम प्राप्त गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । यसरी बालेन अब मुलुकको नेतृत्वमा पुग्नेतर्फ अग्रसर भएका हुन् ।
३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयर हुँदै प्रधानमन्त्री भएर मुलुक हाँक्नेतर्फ उन्मुख भएका हुन् ।
२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा चर्चित भएका थिए ।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।