काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्र र उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेश सहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यसैगरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।