काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण आज देशका विभिन्न स्थानमा बादल लाग्ने तथा केही ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
देशको हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आकाशमा बदली भई वर्षा र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।