प्रधानमन्त्री ओलीद्वारा १७ औं नाडा अटो शो उद्घाटन : नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन

hitkhabar.com


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीमा सुरु भएको १७ औं नाडा अटो शोको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले नेपालमा लगानी र काम गर्न कुनै अवरोध नरहेको स्पष्ट पार्दै अब असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वभर वैज्ञानिक अनुसन्धान, अध्ययन र आविष्कारसँगै नयाँ–नयाँ विकास र प्रगति भइरहेकाले नेपालले पनि त्यसको सहज उपभोग गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ सोच र नयाँ ढंगले काम गर्ने युवाहरुलाई सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरिसकेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । असन्तुष्ट हुनुपर्ने कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही गर्न सकिँदैन ।”

प्रधानमन्त्री ओलीले उत्तर र दक्षिणतर्फ नयाँ र पक्की मार्ग निर्माण भइरहेको, अन्तर्राष्ट्रिय विमानस्थल थपिएको, हरित ऊर्जा, मिथेन ग्यास तथा धौलागिरी फलामको उत्पादन र प्रयोग सुरु भएको र प्रविधिको रुपान्तरण भइसकेको उल्लेख गरे ।

उनले यी सबै प्रयासको ध्येय मुलुकलाई विकास र समृद्धितर्फ लैजाने रहेको बताउँदै भने, “तपाईँहरू ढुक्क भएर अगाडि बढ्नुस्, देशका लागि योगदान दिनुस् ।”

प्रतिक्रिया