पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडमा हल्का वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु/कुहिरो देखिनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ।

यस्तै, बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने जनाइएको छ।

महाशाखाले चिसो बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया