आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानहरूमा तथा हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसममा आएको यस परिवर्तनका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। साथै, मेघगर्जन र चट्याङबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

प्रतिक्रिया