देशभर आंशिकदेखि पूर्ण बदली, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले देशभर मौसममा बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भू-भागमा अधिकांश बदली रहनेछ भने पहाडी र तराई भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका थोरै स्थानहरूमा पनि यस्ता गतिविधि देखिन सक्ने जनाइएको छ।

आज राति पनि मौसममा उल्लेखनीय सुधार नआउने संकेत देखिएको छ। हिमाली भू-भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेशसहित पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका एक-दुई स्थानमा पनि यस्ता गतिविधि हुन सक्ने बताइएको छ।

मौसममा आएको परिवर्तनका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया